काठमाडौं। विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको सानदार जित निकाल्दै एपिएफले उपाधि उचालेको हो।
सुदूरले दिएको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। उसका लागि ममता चौधरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाइन्। उनले दोस्रो विकेटका लागि कप्तान इन्दु बर्मासँग ४४ रनको विजयी साझेदारी गरिन्। इन्दुले २० बलमा दुई चौकासहित अविजित १८ रनको योगदान दिइन्। ओपनर राजमती ऐरी भने चार रनमै रनआउट भएकी थिइन्।
त्यसअघि टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो। सुदूरपश्चिमकफ मनीषा बोहराले अविजित रहँदै सर्वाधिक १८ रन बनाइन्। २३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। कप्तान बिन्दु रावलले १७ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न कविता जैसीले सर्वाधिक तीन विकेट लिइन्। सबनम राई र इन्दु बर्माले समान दुई विकेट लिइन्। करुणा भण्डारीको नाममा एक विकेट रह्यो।

