काठमाडौँ, माघ ११ गते । नेपाल खेलकुद पत्रकार मञ्चले नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा)सँगको सहकार्यमा नेपालमा इ स्पोर्ट्सको मुभमेन्टलाई सशक्त बनाउन शुक्रबार यो खेलसम्बन्धी नो योर गेम कार्यक्रम सञ्चालन गरेको छ ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत रहेको एनएसजेएफ एकेडेमी र नेसाले नेपालका खेल पत्रकारलाई इस्पोर्ट्सबारे विस्तृत ज्ञान दिन पनि सो कार्यक्रमको आयोजना गरिएको हो । थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्समा भएको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत् ३० जना खेल पत्रकारको उपस्थिति रहेको थयो ।
एनएसजेएफ एकेडेमीका संयोजक तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सो कार्यक्रमको उद्घाटन गर्नुहुँदै अहिलेको समयमा नेपाली खेल पत्रकार इस्पोर्ट्सबारे जानकार हुन अत्यावश्यक भएको बताउनुभयो । उहाँले इ स्पोर्ट्स विश्वव्यापीरुपमै तीब गतिमा लोकप्रिय बनिरहेको खेल भएकोले पनि खेल पत्रकारहरुसँग इस्पोर्ट्सबारे गहन जानकारी हुनुपर्छ, भन्नुभयो । इस्पोर्ट्स अब मनोरञ्जन मात्र रहेन । यो एक उद्योग बनिसकेको छ, जसमा नेपालको पनि ठूलो सम्भावना छ, उहाँले भन्नुभयो ।
नेसाका अध्यक्ष सुरज डङ्गोलले इ स्पोर्ट्सको इतिहासका साथै यसका विविध पक्षबारे गहन प्रस्तुती दिनुभएको थियो । उहाँले भन्नुभयो– नेपालमा इस्पोर्ट्सलाई अगाडि बढाउन सन २०१६ मा स्थापना भएदेखि नै नेसा लगातार खटिरहेको छ र फलस्वरुप नेपालले अन्तर्राष्ट्रिय इ स्पोर्ट्समा थुप्रै उपलब्धि पनि हासिल गरिरहेको छ– उहाँले भन्नुभयो ।
यसैगरी नेपालका इस्पोर्ट्स प्रशिक्षक तथा रेफ्रीद्वय अरुण मिश्र र सौजन्य श्रेष्ठले इ स्पोर्ट्सको प्राविधिक पक्ष र नियमबारे जानकारी दिनुभएको थियो ।

