काठमाडौँ- भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही एघार रुपन्देहीको भैरहवामा जारि बिपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेका छन्।

भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनल मध्ये पहिलो खेलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई तथा दोश्रो खेलमा नेक्सस रुपन्देहीले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। फाइनल खेल शनिवार दिउँसो १२:३० बजे सुरु हुनेछ।

आज सम्पन्न पहिलो सेमीफाइनलमा भारतको लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई १५६ रनले पराजित गर्यो। लाइफ केयरले दिएको २४८ रनको लक्ष्य पछ्याएको जावेद गोहारले १५. ४ ओभरमा सबै विकेट गुमायो। जावेद गोहरको लागि ओपनर अलि हुसेनले सर्वाधिक ४२ रन बनाए भने रिशिभ जोशीले २३ र मोहम्मद इस्तियाकले १५ रन बनाए।

लाइफ केयरको बलिंगमा क्षितिज त्रिपाठी एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चिए। कप्तान योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिए। यस अघि टस हारेर ब्याटिंग गरेको लाइफ केयरले २० ओभरमा ५ विकेट गुमाएर २४७ रन बनाएको थियो। लाइफ केयरको लागि दिपक पुनियाले शतकीय योगदान दिए। प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा उनले ५८ बलमा ९ चौका र ६ छक्का प्रहार गरे।

ओपनर दिपांशु फोरेले ६५ तथा बिपुल कम्बोजले २९ रन बनाए। जावेद गोहरका बलर मोहम्मद इस्तियाकले ४ विकेट तथा रिशिभ जोशीले १ विकेट लिए। आजको दोश्रो सेमीफाइनलमा स्थानीय टिम नेक्सस रुपन्देही एघारले बंगलादेशको साइक क्रिकेटर्सलाई साइक क्रिकेटर्सले दिएको ८९ रनको लक्ष्य नेपाली टिमले ११. ५ ओभरमै पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा नेक्सस रुपन्देहीको लागि ओपनर शंकर रानाले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको साइक क्रिकेटर्सले १८.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो। साइक क्रिकेटर्सको ब्याटिंगमा एकेएसले सर्वाधिक २७ रन योगदान दिए। नेक्सस रुपन्देहीको बलिंगमा बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। दिपेश कंडेल र शाहब आलमले २/२ विकेट तथा दुर्गेश गुप्त र दिनेश अधिकारीले १/१ विकेट लिए।

नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पांच देशका क्लब टिमहरुको सहभगिता छ।

स्पोर्टस टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले थम पुरस्कार स्वरूप ५ लाख, दोश्रोले ३ लाख, म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile