काठमाडौँ- रूपन्देहीको सिद्धार्थनगरमा जारी बीपी कोइराला स्मृति कप ट्वान्टी/२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा नेक्सस–११ रूपन्देहीलाई पराजित गर्दै भारतीय लाइफ केयर क्रिकेट क्लब विजयी बनेको छ ।
उसले नेक्सस–११ लाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । उसका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ बल खेल्दै ५ चौका प्रहार गर्दै ४८ रन बनाए । त्यस्तै, सुमित महर्जन र बसिर अहमदले २८ रनको पारी खेले । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
१ सय ३४ रनको लक्ष्य पछ्याएको लाइफ केयर क्रिकेट क्लबले १६ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो । उसका लागि कप्तान दीपक पुनियाले ४३ बलमा ५ चौका र ३ छक्काको मद्दतले ६० रन बनाए । अर्का खेलाडी विपुल कम्बोजले ३२ तथा राजेश शर्माले ३७ रनको अविजित पारी खेले ।

