काठमाडौँ- विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।
बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बि समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो । एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः रुपैयाँ एक लाख एक हजार १० रुपैयाँ नगद, द्वितीय पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएका सहसचिव सचिन कार्कीले जानकारी दिए ।