काठमाडौं- रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश गरिएको छ।
भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो। गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो।
उक्त खेलमा भगवती विजयी भएकी थिइन्। सोही गतिविधिका कारण भगवतीको नाम वल्र्ड बुक अफ रेकडर््मा समावेश गरिएको हो। रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड भएको भगवतीले जानकारी दिइन्।
उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्। अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए।
वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे। गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमानका लागि पहल भइरहेको भगवतीले जनाएकी छन्।

