काठमाडौँ- वाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ गते हेटौंडामा बजारपरिक्रमासहित पलेशालाई सम्मानित गरिनेछ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार पलेशासहित १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मानित गरिनेछ ।
पलेशाका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिने सदस्यसचिव लामाले बताए ।

