काठमाडौँ- नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
पिपल्स च्वाइसको मनोनयनमा नेपाली राष्ट्रिय रग्बीका स्टार श्रीराम श्रेष्ठ पर्न सफल भएका छन्।
श्रीरामले २०८० सालमा हासिल गरेको उपलब्धीहरु:
– काभ्रेको बनेपा नालामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान।
– नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी।
– १९ औं हाङझाउ एसियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी।
– भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी।
– २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्सका प्रतिस्पर्धी।
– २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिप्टिन्स प्रतियोगिता बंगबन्धु सिरिजका खेलाडी ।
–सन् २०२२ मा भारतमा भएको वल्र्ड रग्वी फिप्टिन्स डिभिजन ३ का कप्तान । नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेको खेल ।
पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ ।
सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।

