काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

 आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गुलश झा, राष्ट्रिय खेल भलिबलकी राष्ट्रिय खेलाडी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट र फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठ परेका छन् ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ ।

 पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इसेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ । खेलप्रेमीले इसेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिसत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्जवल ओलीले शुक्रबार मनोनयन सार्वजनिक गर्ने क्रममा जानकारी गराए ।

 नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् ।

 यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा पनि अवार्ड कार्यक्रममा समावेश हुनेछन् । उत्कृष्ट घोषित हुने पुरुष,  महिला, युवा खेलाडी तथा प्रशिक्षकले पुरस्कारस्वरुप पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पाउने मञ्चले जनाएको छ ।

यसैगरी अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने बताइएको छ । पिपल्स च्वाइस विधाको लागि भोटिङ पार्टनरका रुपमा मञ्चले शुक्रबारै इसेवासँग सम्झौता गर्यो ।

 गुलशन झा (क्रिकेट) :गुलशन झा देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर गुलसन नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य हुन् ।

 नेपाललाई पहिलो पटक एसिया कपमा छनोट गराउने क्रममा उनले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बलबाट १ विकेट लिनुका साथै ब्याटबाट अविजित ६७ रनको महत्वपूर्ण योगदान गरेका थिए । १६ वर्षको उमेरमै राष्ट्रिय टिमबाट मैदान उत्रिएका नेपाल पुलिस क्लबका अलराउन्डर गुलशनले आइसिसी एसिया ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक ५४ रन बनाएका थिए ।

 त्यसक्रममा उनले २५ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए ।

 कविता भट्ट (भलिबल): कविता भट्ट विभागीय टोली एपिएफबाट घरेलु भलिबल खेल्ने राष्ट्रिय खेलाडी कविता भट्ट नेपालले हालै त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेशन्स लिगमा दोस्रो स्थान हासिल गर्दा टिमकी महत्वपूर्ण सदस्य थिइन ।

अघिल्लो वर्ष यही प्रतियोगितामा कांस्य पदक जित्दा पनि टिममा रहेकी उनले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरिन । गतवर्ष एपिएफले ढोरपाटन महिला डबल लिग, केएनपी राष्ट्रिय महिला च्याम्पियनसिप तथा टाइगर कपमा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण थियो ।

केएनपी च्याम्पियनसिपमिा उत्कृष्ट सर्भर भएकी उनी गएको वर्ष एपिएफ एनभिए कपमा उपविजेता बन्दा उत्कृष्ट ब्लकर चुनिएकी थिइन ।

 मानमती बिष्ट (कबड्डी): मानमती बिष्ट नेपालले चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा कबड्डीबाट कांस्य पदक जित्दा रेड र डिफेन्स दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी मानमतीको भूमिका उच्च थियो ।

 नेपालले एसियाली खेलकुदमा टिम खेलबाट जितेको त्यो इतिहासकै पहिलो पदक थियो । १२औं दक्षिण एसियाली खेलकुद (साग)मा एथ्लेटिक्सबाट भाग लिएकी मानमतीले १३औं सागमा भने कबड्डी टिमबाट रजत पदक जितेकी थिइन ।

 नेपाल पुलिस क्लबकी खेलाडी मानमतीले छैटौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्समा प्रतिस्पर्धा गर्ने क्रममा ४ सय मिटर हर्डल्स, ८ सय मिटर दौड, ४ गुणा १२ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन । यसैगरी कबड्डी सुपर लिग तथा राष्ट्रिय कबड्डी प्रतियोगितामा पुलिस च्याम्पियन हुँदा मानमती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन ।

 प्रीति राई (फुटबल): महिला राष्ट्रिय फुटबल टोलीकी छरिती मिड्फिल्डर सदस्य प्रीतिले १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन । गतवर्ष साउदी अरेबियामा सम्पन्न आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा प्रीतिको प्रदर्शन प्रशंसायोग्य थियो । लेबनानविरुद्ध सेमिफाइनलमा उनैले निर्णायक गोल गरेकी थिइन । राष्ट्रिय महिला लिगमा सात गोल गरेकी उनले एएफसी वुमन्स च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि गोल गरेकी छिन् ।

  (रग्बी) श्रीराम श्रेष्ठ: नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी श्रीराम राष्ट्रिय खेलकुदमा बागमती प्रदेशलाई च्याम्पियन बनाउने कप्तान हुन् ।  चीनको हान्झाउमा सम्पन्न १९औं एसियाली खेलकुद खेल्दा नेपाली टिमका मुख्य खेलाडी श्रीरामले ओलम्पिक छनोटका साथै तीन पटक एसियन रग्बी सेभेन्स खेलेका छन् । उनले रग्बी फिप्टिन्समा पनि नेपालको प्रतिनिधित्व गरेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *