पेरिस, साउन १५ गते । नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
पेरिस ला डिफेन्स एरिनामा उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । सन् २०२४ मै एलेक्जेन्डरले ५२.१७ सेकेन्डको कीर्तिमान कतारको दोहामा भएको विश्व एक्वेटिक च्याम्पियनसिपमा बनाएका थिए ।
पेरिसमा एलेक्सले तेश्रो हितमा प्रतिस्पर्धा गरेका थिए । हितमा पहिलो लेनमा रहेका एलेक्जेन्डर सहभागी ८ प्रतिस्पर्धी मध्ये तेश्रो भए । समग्रमा भने एलेक्जेन्डर ५९ औं स्थानमा रहे । १० चरणको हितमा जम्मा ७९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हितमा शीर्ष १६ स्थानमा रहने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
नेपाली चर्चित पौडी खेलाडी सोफियाका सहोदर भाइ एलेक्जेन्डर ५० मिटर फ्रिस्टायलका पनि राष्ट्रिय कीर्तिमानधारी हुन् । उनको नाममा २३.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । २५ मिटर लम्बाइको पौडी पोखरीमा हुने प्रतिस्पर्धा सट कोर्समा एलेक्जेन्डरको नाममा ४ राष्ट्रिय कीर्तिमान छ ।
उनको नाममा ५०÷१०० मिटर फ्रिस्टायल र ब्याकस्ट्रोकमा गरी ४ राष्ट्रिय कीर्तिमान् छ । चारै कीर्तिमान एलेक्जेन्डरले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए ।

