काठमाडौं, एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदै छ ।

सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्यान्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

उनी अन्तर्राष्ट्रिय लेभल थ्री प्रशिक्षक तथा एजुकेटर हुन् । राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।

पुरुषतर्पm ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी गरिएको थियो ।

त्यहाँबाट अन्तिम छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । नेपाली राष्ट्रिय पुरुष टोलीमा बिबेश बासु, प्रमेश चौधरी, यदु अधिकारी, बिराट श्रेष्ठ, निरोज अधिकारी, विक्रम पुरी, गणेश बानिया, सबिन महत, नवीनबहादुर मगर, मशेष सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी, सञ्जय अधिकारी र कपिल ठकुरी छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीमा मनीषा थापामगर, आशा कुँसार, साबित्री पुर्जा, श्रृजना राई, सिर्जना छन्त्याल, मनीषा घिसिङ, बिशाका मार्किन राई, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, संगीता घिसिङ, अप्सरा कार्की, रोजिना पोखरेल, बिनिता शाही ठकुरी, अनु शेर्पा, कमला राई र सुजा राई छनोट भएका छन् ।

एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालले आयोजना गर्न लागेको अहिलेसम्कै ठूलो प्रतिस्पर्धा हो । उक्त ट्रफीका खेलहरू दशरथ रंगशालामा सञ्चालन हुनेछन् ।

रग्बी संघका महासचिव घिमिरेले करिब चार महिनादेखि यो आयोजनाको तयारी गरिएको बताए ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile