काठमाडौ- नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो चरणबाट घर फर्किएका छन्।
उनी सेनगलका खेलाडी इब्राहिमा डियावसँग ४-० को सोझो सेटमा पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएका हुन्।
स्यान्टु १०-१२, ३-११, ४-११ र ५-११ को सोझो सेटमा पराजित भएका हुन्।
श्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी भएका हुन् । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै श्यान्टुले पेरिस ओलम्पिक– २०२४ मा स्थान पक्का गरेका थिए ।
गृष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धी हात पार्ने श्यान्टु तेश्रो नेपाली खेलाडी हुन् । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।
यो संगै पेरिस ओलम्पिकको ३३ औं संस्करणमा नेपालबाट ५ खेलमा ६ जना खेलाडीमात्र बाकि रहेका छन्।
ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् । पुरुष १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिने छन् ।
महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले २ सय मिटर फ्रिस्टायल, जुडोकी मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्ने छन्