काठमाडौँ- मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् ।

त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।
सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यत्तैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयारी गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।

अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *