काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज समूह ‘ए’ का दुई महत्वपूर्ण खेलहरू हुँदैछन्।

आजको पहिलो खेलमा प्रतियोगितामा अपराजित रहेका वडा नं ६ र वडा नं ९ आमनेसामने हुनेछन्। यस खेलमा जित निकाल्ने टोलिको सेमिफाइनल प्रवेशको सम्भावना झनै बलियो हुनेछ।

अहिलेको अंकस्थितिअनुसार समूह ‘ए’ मा वडा नं ६ ले तीन खेलबाट सात अंक जोडेको छ। त्यस्तै वडा नं ९ ले दुई खेलबाट ६ अंक हासिल गरेको छ।

आजको दोस्रो खेलमा वडा नं २ र वडा नं १ बीच प्रतिस्पर्धा हुनेछ। वडा नं २ ले खेलेका दुवै खेलमा पराजय भोग्दै अंकविहीन अवस्थामा रहेको छ। उता वडा नं १ ले एक जित र एक बराबरीसँगै चार अंक जोडेको छ।

स्थानीय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन भइरहेको यस प्रतियोगिताले फर्पिङ क्षेत्रमा खेलकुद गतिविधिलाई थप उत्साह दिएको छ। प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका छन्।

वडा स्तरीय सहभागितामा आयोजना गरिएको यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल चरणका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile