काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज समूह ‘ए’ का दुई महत्वपूर्ण खेलहरू आयोजना हुँदैछन्।
आजको पहिलो खेलमा वडा नं ६ ले दिउँसो १२:१५ बजे वडा नं १ सँग प्रतिस्पर्धा गर्नेछ। लगातार दुई जित निकालिसकेको वडा नं ६ आज तेस्रो जितको खोजीमा मैदान उत्रिँदैछ। यदि उसले आजको खेल जितेमा एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना प्रबल हुनेछ। ६ नं ले आफ्नो पहिलो खेलमा वडा नं २ लाई २-१ गोलले हराउँदा दोस्रो खेलमा वडा नं ८ लाई ३-१ गोलले हराएको थियो।
उता वडा नं १ पनि प्रतियोगितामा लगातार दोस्रो जितको खोजिमा रहेको छ। पहिलो खेलमा वडा नं ८ विरुद्ध ३-१ गोलको जित निकालेको थियो।
त्यसैगरी आजको दोस्रो खेल दिउँसो २:१५ बजे वडा नं ८ र वडा नं ९ बीच हुनेछ। वडा नं ८ प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको छ। पहिलो खेलमा नं ८ वडा नं १ संग ३-१ गोलले पराजित भएको थियो। वडा नं ९ ले भने पहिलो खेलमा वडा नं २ लाई १-० गोलले हराएको थियो।
यसअघि समूह ‘बी’ बाट वडा नं ५ र वडा नं ७ अपराजित रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
स्थानीय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन भइरहेको यस प्रतियोगिताले फर्पिङ क्षेत्रमा खेलकुद गतिविधिलाई थप उत्साह दिएको छ। प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका छन्।
वडा स्तरीय सहभागितामा आयोजना गरिएको यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल चरणका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

