काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज दुई खेलहरू सम्पन्न भएका छन्।
आजको पहिलो खेलमा वडा नं ६ ले वडा नं ८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। यसअघि आफ्नो पहिलो खेलमा वडा नं ६ ले वडा नं २ विरुद्ध कमब्याक जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो हाफमा वडा नं २ ले एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा वडा नं ६ ले लगातार दुई गोल फर्काउँदै खेल २–१ ले आफ्नो पक्षमा पारेको थियो। लगातार दोस्रो जितपछि वडा नं ६ ले समूह ‘ए’ ६ अंक पुर्याएको छ।
आजै सम्पन्न दोस्रो खेलमा वडा नं ९ ले वडा नं २ लाई १–० गोलले पराजित गरेको छ। समूह ‘ए’ मा आफ्नो पहिलो खेल खेलेको ९ नंले महत्वपूर्ण तीन अंक जोडेको छ।
प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका छन्। वडा स्तरीय सहभागितामा आयोजना गरिएको यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।
आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल चरणका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

