काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आइतबार सम्पन्न खेलमा वडा नं ५ र वडा नं ७ ले विजयी सुरुवात गरेका छन्।
काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा वडा नं ५ ले वडा नं ४ लाई २–० गोलले पराजित गर्दै तीन अंक जोड्न सफल भयो।
दोस्रो खेलमा वडा नं ७ ले वडा नं ३ लाई ३–० गोलले पराजित गर्दै शानदार प्रदर्शन गरेको हो।
जितसँगै वडा नं ५ र वडा नं ७ ले आ–आफ्नो समूहमा समान तीन–तीन अंक जोडेका छन्।
वडा स्तरीय सहभागितामा आयोजना गरिएको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। प्रत्येक दिन डबल–हेडर प्रणालीअनुसार दुई खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनलका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदाउँदो खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

