काठमाडौँ- शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ आजदेखि सुरु भएको छ। काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा साबिक विजेता वडा नं १ र वडा नं ६ ले विजयी सुरुवात गरेका छन्।

उद्घाटन खेलमा वडा नं १ ले वडा नं ८ लाई १–० गोलले पराजित गर्दै तीन अंक जोड्न सफल भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा वडा नं १ ले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो। यी दुई टोली पहिलो संस्करणको फाइनलमा पनि आमनेसामने भएका थिए जसमा वडा नं १ च्याम्पियन बनेको थियो।

आजै सम्पन्न दोस्रो खेलमा वडा नं ६ ले वडा नं २ विरुद्ध कमब्याक जित निकाल्दै रोमाञ्चक प्रदर्शन गरेको छ। पहिलो हाफमा वडा नं २ ले एक गोलको अग्रता बनाएको थियो। तर दोस्रो हाफमा वडा नं ६ ले लगातार दुई गोल फर्काउँदै खेल २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो। समूह ‘ए’ मा रहेका दुवै विजयी टोलिले समान तीन अंक बटुलेका छन्।

वडा स्तरीय सहभागितामा आयोजना गरिएको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। प्रत्येक दिन डबल–हेडर प्रणालीअनुसार दुई खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनलका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदाउँदो खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile