काठमाडौँ — लिभरपुलले घरेलु मैदान एनफिल्डमा उत्साही बार्न्स्लेलाई पराजित गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ। यस जितसँगै लिभरपुलले अब अर्को चरणमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक आर्ने स्लोटको टोलीले पहिलो हाफमै डोमिनिक सोबोस्लाइ र जेरिमी फ्रिम्पोङका उत्कृष्ट गोलमार्फत दुई गोलको अग्रता लिएको थियो। तर सोबोस्लाइको एक दुर्भाग्यपूर्ण गल्तीले लिग वानको टोली बार्न्स्लेलाई खेलमा फर्कने अवसर दियो।
लिग संरचनामा दुवै टोलीबीच ५७ स्थानको अन्तर भए पनि बार्न्स्लेले खेलको पहिलो मिनेटमै डेविस केइलर–डनको हेडरमार्फत क्रसबार हानेर आक्रामक सुरुवात गरेको थियो। तर सोबोस्लाइले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले एनफिल्डको दबाब कम गर्यो।
यो जितसँगै लिभरपुलले बार्न्स्लेविरुद्ध १९९७ र २००८ मा एनफिल्डमा भोगेका हारको स्मृति मेटाउँदै अपराजित यात्रालाई ११ खेलसम्म लम्ब्याएको छ।

