काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि ‘एन्फा यू-१८ युथ लिग’ फुटबल प्रतियोगिता सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लबले मछिन्द्र एफसीको सामना गर्दैछ।
नेपाली फुटबलको जग मानिने युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस लिगमा ए डिभिजन लिगका १२ वटा क्लबका यू-१८ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। आजको खेल दिउँसो २:०० बजे सुरु हुने तालिका रहेको छ।
यस प्रतियोगिताको साबिक विजेता टोली नेपाल पुलिस क्लब हो। अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको पुलिस क्लब यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ। एक दिन अघि सम्पन्न यू-१६ लिगको उपाधीपनि पुलिसले नै जितेको छ।

