काठमाडौँ- एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो आधिकारिक प्रतियोगितामा ढिलोगरी मैदान प्रवेश गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ।
एएफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम चरणअन्तर्गत गत नोभेम्बर १८ मा मलेसियाविरुद्ध भएको खेलमा नेपाल पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिलो मैदान प्रवेश गरेको ठहर एएफसीले गरेको हो। सोही कारण एएफसीको अनुशासन तथा इथिक्स समितिको डिसेम्बर १५ मा बसेको बैठकले एन्फामाथि नगद जरिवाना गर्ने निर्णय गरेको हो।
उक्त खेलमा घरेलु टोली मलेसियाले पनि समान कारणले ढिलाइ गरेको भन्दै २ हजार ५ सय अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ।
त्यसैगरी, सो खेलमा ‘प्लेयर अफ दी म्याच’ घोषित मलेसियाका रक्षक मोहम्मद फैसल बिन अब्दुल हलिम पोस्ट म्याच पत्रकार सम्मेलनमा उपस्थित नभएको कारण कारबाहीमा परेका छन्। एएफसीको अनुशासन समितिले उनलाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ। आफ्ना खेलाडीलाई नियमअनुसार पत्रकार सम्मेलनमा उपस्थित नगराएको आरोपमा मलेसिया फुटबल संघलाई पनि थप १० हजार डलर जरिवाना गरिएको छ।
एएफसीको निर्णयअनुसार एन्फा, मलेसिया फुटबल संघ तथा खेलाडी मोहम्मदले आउँदो जनवरी १५ भित्र जरिवाना रकम भुक्तानी गरिसक्नुपर्नेछ।
प्रतियोगितात्मक हिसाबले नेपाल समूह ‘एफ’को पुछारमा रहँदै अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कप प्रतियोगिताबाट बाहिरिएको थियो। समूहका पाँचै खेलमा पराजित नेपालले अंकको खाता खोल्न सकेन। भियतनाम र लाओससमेत रहेको समूहबाट मलेसिया शीर्ष स्थानमा रहँदै छनोट भएको हो। भियतनाम १२ अंकसहित दोस्रो र लाओस ३ अंकसहित तेस्रो स्थानमा रह्यो।

