काठमाडौँ- तीनपटककी बालोन डी’ओर विजेता आइतना बोनमाती प्रशिक्षण क्रममा खुट्टा भाँचिएपछि लामो समयका लागि खेल मैदानदेखि टाढा रहने भएकि छन्।
२७ वर्षीया बोनमाती आइतबार म्याड्रिडको लास रोजासस्थित राष्ट्रिय टोलीको प्रशिक्षण केन्द्रमा बिहानको अभ्यास सत्रमा असावधानीपूर्वक लड्दा घाइते भएकी हुन्।
स्पेनले आगामी २ डिसेम्बरमा एस्टाडियो मेट्रोपोलिटानोमा जर्मनीविरुद्ध हुने युइएफए विमेन्स नेसन्स लिग फाइनलको दोस्रो लेगका लागि तयारी गर्दै आएको थियो। बोनमातीले गत शुक्रबार जर्मनीमै भएको पहिलो लेगमा ७७ मिनेट खेलिन्, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।
स्पेनी फुटबल महासंघ (RFEF) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि चिकित्सा परीक्षणपछि बोनमातीको बायाँ फिबुला (खुट्टाको हड्डी)मा फ्र्याक्चर भएको पुष्टि भएको हो।
बोनमाती यस वर्ष तेस्रोपटक महिला बालोन ड’ओर जित्ने पहिलो खेलाडी बनेकी थिइन्। उनले बार्सिलोनासहित घरेलु ट्रेबल जितिन् र स्पेनलाई युरो २०२५ को फाइनलसम्म पुर्याउन भूमिका खेलेकी थिइन्।
यसै वर्ष युइएफएले उनलाई च्याम्पियन्स लिगको वर्षकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित गरेको थियो।

