झापा – झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५ औँ मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३ औँ मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।

तर, निरन्तर दबाब बनाइरहेको संकटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३० औँ मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।

दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रमक बन्यो । ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याइन् । ६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।
८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, जसअन्तर्गत उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।
दर्शकका लागि क्वार्टर फाइनलसम्म टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile