काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन लिग क्लबहरूबीच राष्ट्रिय लिग सञ्चालनका सम्बन्धमा सहमति भएको छ। सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग सुरु गर्ने निर्णय गरेको हो।

सहमतिअनुसार लिगमा पछिल्लो संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ टिम र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका ४ टिम गरी कुल १० टोलीले सहभागिता जनाउने भएका छन्। प्रतियोगिता डबल राउन्ड–रोबिन प्रारूपमा सम्पन्न गरिने एन्फाले जनाएको छ।

राष्ट्रिय लिगको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछ।

‘ए’ डिभिजन लिग पनि पुस ३ देखि

बैठकले यसैगरी सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८३ आगामी पुस ३ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ।

एन्फाले यसअघि असोज ६ गते परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ सम्म सञ्चालन गर्ने जानकारी दिएको थियो। सो अवधिमा देशका विभिन्न जिल्लामा १४ वटा मैदान प्रयोग गरी ‘होम एन्ड अवे’ प्रारूपमा खेल सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो। तर, असोज २४ गते एन्फाले पत्रकार सम्मेलनमार्फत तत्कालका लागि ‘होम एन्ड अवे’ लिग सम्भव नभएको निष्कर्ष निकाल्दै राष्ट्रिय लिगलाई विकल्पका रूपमा अघि सारेको थियो।

सहभागी टोली र तयारी मिति

राष्ट्रिय लिगमा सहभागिता जनाउने सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोलीमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्रा फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोट टिम (एनआरटी) रहेका छन्।

त्यस्तै, एन्फा प्रेसिडेन्ट लिगबाट छनोट हुने शीर्ष चार टोली पनि राष्ट्रिय लिगमा सहभागी हुनेछन्।

लिगमा सहभागी हुने टोलीहरूले मंसिर ५ गतेभित्र टिम दर्ता र मंसिर ९ गतेभित्र खेलाडी दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ। यसैगरी, मंसिर १९ गते लिगको खेल तालिका सार्वजनिक गरिनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *