झापा — झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आजदेखि एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ। वर्षाका कारण दुई दिन ढिलाइ गर्दै सुरु गरिएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

पहिलोपटक आयोजना गरिएको यो महिला गोल्डकप प्रतियोगिता कात्तिक १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

यस प्रतियोगितालाई नेपालकै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता मानिएको छ। विजेता टिमले रु. १० लाख १० हजार, उपविजेताले रु. ५ लाख, र सर्वोत्कृष्ट खेलाडीले रु. १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्तालाई जनही रु. २५ हजार, र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई रु. १५ हजार र ट्रफी प्रदान गरिनेछ।

दुधे रंगशालामा ३ हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडान गरिएको छ भने १० हजार दर्शक अट्ने अस्थायी बाँसको प्यारापिट पनि तयार गरिएको आयोजक समिति अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए। विशेष अतिथिहरूका लागि ३०० वटा सिट निर्माण गरिएको छ।

प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपीएफ क्लब र भारतको सिक्किमस्थित सिङ्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ। तेस्रो खेल कात्तिक १९ गते संकटा क्लब र झापा क्लबबीच तथा चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच हुने तय भएको छ।

पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते र दोस्रो सेमिफाइनल कात्तिक २२ गते हुनेछ भने फाइनल खेल कात्तिक २४ गतेका लागि निर्धारित गरिएको छ।

गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, यो प्रतियोगिता नेपालमा अहिलेसम्मकै सबैभन्दा भव्य र आकर्षक महिला फुटबल प्रतियोगिता हुने अपेक्षा गरिएको छ। आयोजक समितिले यसलाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट तहमा महिला फुटबल सुदृढ गर्ने अभियानका रूपमा लिएको जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile