काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ मा नेपाली क्रिकेट टोलीहरूको व्यस्त अन्तर्राष्ट्रिय तथा घरेलु कार्यक्रम समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत क्यानले पुरुष, महिला र उमेर समूहका टोलीहरूको सहभागिता रहने प्रतियोगिता तथा शृंखलाहरू सार्वजनिक गरेको हो।

क्यालेन्डरअनुसार वर्षको सुरुआत जनवरीमै नेपालका लागि महत्वपूर्ण प्रतियोगिताबाट हुनेछ। सो महिनामा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुने छ। साथै, महिलाको प्रिमियर कप पनि प्रस्तावित गरिएको छ। फेब्रुअरीमा भने नेपाली पुरुष टोली टी–२० विश्वकपमा सहभागी हुने तालिका छ।

मार्च महिनामा पुरुष टोलीले आईसीसी लिग–२ अन्तर्गत शृंखला खेल्ने छ भने महिला टोलीले बाइल्याटरल अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ। यसै महिनामा यू–१९ टोलीको भुटान भ्रमण पनि तय गरिएको छ।

अप्रिलमा नेपाल ‘ए’ टोलीको अन्तर्राष्ट्रिय शृंखला, महिला टोलीको शृंखला तथा यू–१९ महिला टोलीको प्रतियोगिता आयोजना हुने कार्यक्रम छ। मे महिनामा पुरुष टोलीले लिग–२ र टी–२०आई दुवै शृंखला खेल्नेछ भने नेपाल ‘ए’ र महिला टोली पनि मैदानमा उत्रनेछन्।

जुनमा पुरुष टोलीको टी–२०आई शृंखला आयोजना हुने छ भने यू–१९ महिला टोली मलेसिया भ्रमणमा जानेछ। जुलाई महिनामा पुरुष टोलीको लिग–२ शृंखला, महिला एसिया कप र यू–१६ इस्ट जोन कप आयोजना हुने तालिका रहेको छ।

अगस्टमा नेपाली पुरुष टोली एसीसी प्रिमियर कपमा सहभागी हुनेछ। साथै, कुवेतसँग टी–२०आई शृंखला र टप एन्ड टी–२० प्रतियोगितामा पनि नेपालको सहभागिता रहने उल्लेख गरिएको छ।

सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल शृंखला तथा महिला टोलीको यूएई भ्रमण तय गरिएको छ। अक्टोबरमा पुरुष टोलीको लिग–२ शृंखला र महिलाको त्रिदेशीय शृंखला आयोजना हुने छ।

वर्षको अन्त्यतिर नोभेम्बरमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आयोजना गरिने छ भने डिसेम्बरमा महिला र पुरुष दुवै टोलीका अन्तर्राष्ट्रिय शृंखला खेलिने क्यानले जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile