काठमाडौँ– मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेश क्रिकेट टोलीका पूर्व कप्तान तथा २७ वर्षीय क्रिकेटर मिनाश थापाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब पौने १ बजे विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट लाइनको भित्री सडक खण्डमा दुर्घटना भएको हो। विराटनगर एयरपोर्ट लाइनबाट गणेशचोकतर्फ जाँदै गर्दा थापा सवार प्रदेश नम्बर १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मिनाश थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीका रूपमा परिचित थिए। उनले कोशी प्रदेश क्रिकेट टोलीको कप्तानी गरिसकेका थिए भने विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग (PPL) समेत खेलिसकेका थिए। साथै उनले अन्य विभिन्न फ्रेन्चाइज लिगहरूमा पनि सहभागिता जनाएका थिए।
उनको असामयिक निधनले नेपाली क्रिकेट जगत शोकमा डुबेको छ।

