काठमाडौं । कोशी प्राइड प्रा.लीले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंको दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता ९ देखि २१ फागुनसम्म सुनसरीमा हुने जानकारी गराइयो ।
प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । केपिएलका निर्देशक अफजल हुसैनले प्रतियोगितामा सात टिमको सहभागिता रहने बताए । उनले पत्रकारसम्मेलनमार्फन नै टिमका मालिक पनि घोषणा गरेका छन् । प्रतियोगिताको लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुँदैछन् ।
नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको कल्पित ढकाल, विर्तामोड हिट्सको मालिक अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पुर्वेली सुपर किंग्सको मालिकमा संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिंदेल छन् । एभरेष्ट थन्डर्सको मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नासको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय खड्का, पुजन बाबु भट्टराई, किरण खड्का, अमर्दीप सापकोटा र रघुनाथ सापकोटा मालिक रहेका छन् ।
प्रतियोगिताको लागि एक टोलीमा १८ खेलाडी राख्नै पर्ने नियम रहेको छ । जसमा एक मार्की, एक आइकोनिक, तीन जना ड्राफ (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ‘ए’ का तीन, क्याटगोरी ‘बी’ का दुई तथा क्याटगोरी ‘सी’ का एक खेलाडी रहनेछन् । केपिएलका निर्देशक अफजल हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा गरे । उनले यही प्रतियोगितामार्फत राष्ट्रिय टिम तथा एनपिएलको लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको बताए । ‘केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु । यही प्रतियोगिताबाट नेपालीहरुको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल) र नेपालको उमेर समूह तथा राष्ट्रिय टिमको लागि नयाँ–नयाँ खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त छु ।’ आयोजक कोशी प्राइड प्रा.लीले चाडै प्रतियोगिताको अक्सन मिति घोषणा गर्ने पनि बताएको छ ।
अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ । प्रतियोगिताका मुख्य अतिथि क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’
प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले नेपाली क्रिकेट विकासमा मद्धत गर्ने धारणा राखे । सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आायोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् । ‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हँुदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ ।
कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ । झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् । ‘दोस्रो एनपिएल भर्खरै सम्पन्न भएको छ । एनपिएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो ।’

