काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणको ताज उचालेको हो ।
च्याम्पियन यात्रामा कप्तान रोहितकुमार पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो । ब्याट र बल दुवैबाट प्रभाव जमाएका रोहित प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए । उनले प्रतियोगितामा २७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए । यस उपलब्धिका लागि रोहितले ओमोडा–जेइको जे–५ कार प्राप्त गरे । साथै प्रतियोगिताको उत्कृष्ट ब्याटर बनेका उनले एक थान पल्सर मोटरसाइकल पनि हात पारे ।
लुम्बिनी लायन्सकै युवा बलर शेर मल्ल प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी घोषित भए । उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।
लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए ।
व्यक्तिगत विधातर्फ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (ओभरअल) नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भए । १५ विकेट लिएका ट्रम्पलमनले ५ लाख रुपैयाँ पुरस्कार पाए । उनी फाइनल खेलका प्लेयर अफ द म्याच समेत बने ।
बलिङ विधातर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट बलर घोषित भए । उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।
यस्तै, रेड बूलद्वारा प्रदान गरिएको ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड सुदूरपश्चिमका अभिनाश बोहराले जिते । १७ विकेट लिएका अभिनाश संयुक्त रूपमा प्रतियोगिताका सर्वाधिक विकेट टेकरसमेत बने । उनले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

