काठमाडौँ — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आगामी खेलमा विशेष रङका जर्सीसहित मैदान उत्रने भएका छन्। वातावरण संरक्षण र मानवीय संवेदनालाई समेटेर दुवै टिमका जर्सीहरू विशेषरूपमा डिजाइन गरिएको आयोजकले जनाएको छ।

आगामी खेलका लागि पोखरा एभेन्जर्स का खेलाडीहरूले हरियो रङका जर्सी लगाउनेछन्, जसमा ‘ग्लासियर्स म्याटर’ अर्थात् ‘हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने सन्देश अंकित गरिएको छ। नेपाल जलवायु जोखिममा उच्च संवेदनशील मुलुक भएकाले हिमनदी संरक्षणबारे चेतना जगाउन यी जर्सीहरू तयार गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले बताए।

उनका अनुसार गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्यसँग जोडिएको हुँदा यसलाई जोगाउनु सबैको नैतिक दायित्व हो। हाल जलवायु परिवर्तनका कारण हिउँ पग्लिने, नयाँ हिमताल बन्ने, हिमताल फुट्ने तथा बाढीको जोखिम बढ्दै गएको परिप्रेक्ष्यमा ‘ग्लासियर्स म्याटर’ अभियानलाई बलियो बनाउन यो पहल गरिएको हो।

त्यसैगरी जनकपुर बोल्ट्स का खेलाडीहरू गुलाबी जर्सीमा देखिनेछन्, जुन सम्पूर्ण आमाहरूको सम्मान र समर्पणका रूपमा डिजाइन गरिएको जनकपुर बोल्ट्सले जनाएको छ।

खेलपछि दुवै टोलीका विशेष जर्सीहरू च्यारिटी अक्सन मार्फत बिक्री गरिनेछन्। अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सीबाट उठेको रकम ‘ग्लासियर्स म्याटर’ जागरण अभियानमा प्रयोग गरिनेछ भने जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्न उपयोग गरिनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile