काठमाडौं — मध्यपूर्वमा बढ्दो तनावका कारण नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ को शृंखला स्थगित गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको हो।
निर्धारित तालिकाअनुसार नेपालले मार्च १० देखि यूएई र ओमान सम्मिलित लिग–२ शृंखला आयोजना गर्ने तयारी गरेको थियो।
तर हालै संयुक्त राज्य अमेरिका र इजरायल ले इरान माथि आक्रमण गरेपछि जबाफी कारबाहीका क्रममा इरानले संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया लगायतका देशमा प्रहार गरेपछि मध्यपूर्व क्षेत्रको अवस्था तनावपूर्ण बनेको बताइएको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै शृंखला स्थगित गरिएको क्यानले जनाएको छ।
आठ राष्ट्र सहभागी प्रतियोगितामा समान २० खेल खेलेको ओमान २४ अंकसहित चौथो स्थानमा छ। नेपाल १२ अंकका साथ सातौँ तथा यूएई १० अंकसहित आठौँ स्थानमा रहेका छन्।

