काठमाडौँ – एन्फा वुमन्स च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज संकटा एफसी र विभागीय टोली एपिएफ आमनेसामने हुँदैछन्। खेल दिउँसो ३ बजे थारुहट रंगशालामा सुरु हुनेछ।
संकटाले प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। यता एपिएफले आरएस पोखरामाथि १९–० को फराकिलो जित निकाल्दै उपाधि दाबेदारी बलियो बनाएको छ।
इतिहास हेर्दा महिलातर्फको प्रतिस्पर्धामा संकटाले हालसम्म एपिएफलाई पराजित गर्न सकेको छैन। त्यसैले आजको खेल संकटाका लागि पुरानो नतिजा उल्ट्याउने अवसरका रूपमा रहनेछ।
यसअघि भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरिसकेको छ। अब दोस्रो सेमिफाइनलको विजेता टोलीले उपाधिका लागि आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

