काठमाडौं । कोशी प्रदेशले राजधानीमा दुई दिनसम्म चलेको विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा कोशीले बागमती प्रदेश (ख)लाई ३–१ ले पराजित गर्यो । विजेता टोलीका लागि निरज श्रेष्ठले दुई तथा रोहन खड्काले एक गोल गरे । २–० ले पछाडि परेको अवस्थामा बागमतीका लागि कप्तान सञ्जीत श्रेष्ठले एक गोल फर्काएका थिए । उपाधिसँगै कोशीले ट्रफीसँगै ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बागमतीले ४० हजार रुपैयाँमा चित्त बुझायो । त्यस्तै बागमती प्रदेश (क)लाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गर्यो । निर्धारित ६० मिनेटको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुदूरपश्चिमले पनि ट्रफीसहित ३० हजार रुपैयाँ पायो ।

विजेता टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरस्कार हस्तान्तरण गरे । आइतबार प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए । सोमबार सेमिफाइनल, फाइनल र तेस्रो स्थानगरि चार खेल भए । पहिलो सेमिफाइनलमा बागमती (ख)ले सुदूरपश्चिमलाई ३–० हरायो ।

त्यसपछि कोशीले बागमती (क)को चुनौती २–० ले पन्छाएको थियो । सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो । बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile