काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमै नेपालले अन्तिम ओभरसम्म संघर्ष गरे पनि बलियो टोली इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको छ। आइतबार मुम्बईको वान्खडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमात्र बनाउन सक्यो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो। तर, दबाबमा नेपालले पाँच रनमात्र बनाउन सक्यो र ऐतिहासिक जितको मुखमै पुगेर रोकियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। ४२–२ को स्थितिमा ब्याटिङमा आएका उनले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गरे। रोहितले ३९ रन बनाए भने दीपेन्द्र १४.२ ओभरमा आउट भएपछि नेपालको लय केही खस्कियो।

अन्त्यतिर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए। १९५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले चार चौका र चार छक्का प्रहार गरे। तर अन्तिम दुई बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल जितबाट वञ्चित भयो।

ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाउँदै राम्रो सुरुआत दिलाएका थिए। अर्का ओपनर आसिफ सेख भने ९ बलमा ७ रन बनाएर आउट भए। आरिफ सेखले १० रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डका लियम ड्वसनले दुई विकेट लिए भने जोफ्रा आर्चर, लुक वुड, विल ज्याक र साम करनले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो। ज्याकोब बेथेलले ५५ रन र कप्तान ह्यारी ब्रुकले ५३ रन जोडे। जस बटलरले २६ रन थपे भने फिल साल्ट एक रनमै आउट भए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile