काठमाडौँ- अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्स ढाडको चोटका कारण भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप खेल्न नसक्ने भएका छन्। ३२ वर्षीय कमिन्स लामो समयदेखि ढाड समस्याबाट ग्रसित रहेका छन् र इङ्ल्यान्डविरुद्धको एशेज सिरिजमा पनि उनले एक खेल मात्र खेलेका थिए।
प्रारम्भिक टोलीमा समावेश गरिए पनि पूर्ण रूपमा फिट नभएकाले अस्ट्रेलियाले अन्तिम विश्वकप टोलीबाट कमिन्सलाई बाहिर राखेको हो। उनको स्थानमा बायाँहाते तीव्र गतिका बलर बेन ड्वारशुइसलाई टोलीमा समेटिएको छ।
मिचेल मार्शको कप्तानीमा रहेको अस्ट्रेलिया विश्वकप तयारीका क्रममा हाल पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज खेलिरहेको छ। बिग ब्यास लिगमा राम्रो प्रदर्शन गरेका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ भने विश्वकप टोलीमा अटाउन सकेनन्।
अस्ट्रेलियाले आफ्नो विश्वकप अभियान फेब्रुअरी ११ मा कोलम्बोमा आयरल्याण्डविरुद्ध खेल्दै सुरु गर्ने तालिका छ।
अस्ट्रेलिया विश्वकप टोली:
मिचेल मार्श (कप्तान), ट्राभिस हेड, जेभियर बार्टलेट, जोश हेजलवुड, कूपर कोनोली, जोश इङ्लिस, टिम डेभिड, म्याथ्यु कुहनेमन, बेन ड्वारशुइस, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, म्याथ्यु रेन्सह, नाथन एलिस, मार्कस स्टोइनिस, एडम जाम्पा।

