काठमाडौँ — शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ अन्तर्गत आज समूह ‘बी’ का दुई खेलहरू आयोजना हुँदैछन्।
आजको पहिलो खेलमा वडा नं ४ ले दिउँसो १२:१५ बजे वडा नं ३ सँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलिले सुरुवाति दुई खेलमा वडा नं ५ र वडा नं ७ संग पराजय व्यहोरेका कारण प्रतियोगिताबाट बाहिरिसकेका छन्।
त्यसैगरी दोस्रो खेल दिउँसो २:१५ बजे वडा नं ५ र वडा नं ७ बीच हुनेछ। यसअघि समूह ‘बी’ बाट वडा नं ५ र वडा नं ७ अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
समूह ‘बी’ मा वडा नं ५ ले वडा नं ४ र वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। त्यस्तै वडा नं ७ ले पनि वडा नं ४ र वडा नं ३ लाई नै पराजित गरेको थियो। आजको खेलमा जित निकाल्ने टोली समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्नेछ। यदि खेल बराबरी भएको अवस्थामा भने वडा नं ५ गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहनेछ। वडा नं ५ ले दुई खेलमा ८ गोल गरेको छ भने वडा नं ७ ले समान खेलमा ७ गोल गरेको छ।
स्थानीय स्तरका खेलाडीहरूको सहभागितामा सञ्चालन भइरहेको यस प्रतियोगिताले फर्पिङ क्षेत्रमा खेलकुद गतिविधिलाई थप उत्साह दिएको छ। प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेका छन्।
वडा स्तरीय सहभागितामा आयोजना गरिएको यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल चरणका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले रु. १,५१,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ७५,५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

