काठमाडौँ — न्युजिल्यान्डले भारतमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला जित्न सफल भएको छ। निर्णायक तेस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ४१ रनले पराजित गर्दै २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो।
इन्दोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ड्यारिल मिचेलको १३७ रन र ग्लेन फिलिप्सको १०६ रनको शतकीय पारीको मद्दतले ५० ओभरमा ८ विकेट गुमाउँदै ३३७ रन बनायो।
३३८ रनको लक्ष्य पछ्याएको भारतका लागि विराट कोहलीले १२४ रनको शानदार पारी खेले। यो उनको करिअरको ५४औँ ओडिआई शतक हो, जसले उनले आफ्नै कीर्तिमानलाई अझ विस्तार गरेका छन्। कोहलीले १० चौका र तीन छक्का प्रहार गरेका थिए। तर उनको प्रयास भारतलाई जित दिलाउन पर्याप्त भएन।
भारत ४६ ओभरमा सबै विकेट गुमाउँदै २९६ रनमै समेटियो।
अब यी दुई टिमबीच २१ जनवरीदेखि पाँच खेलको टी–२० शृंखला सुरु हुनेछ। त्यसपछि ७ फेब्रुअरीदेखि भारत र श्रीलङ्काको सह–आयोजनामा टी–२० विश्वकप सुरु हुँदैछ।

