काठमाडौँ । शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ आजदेखि सुरु हुँदैछ। वडा स्तरीय सहभागितामा आयोजना हुने यस प्रतियोगितामा स्थानीय वडाहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
उद्घाटन दिन आज दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२:१५ बजे वार्ड ८ र वार्ड १ बीच हुनेछ भने दोस्रो खेल दिउँसो २:१५ बजे वार्ड ६ र वार्ड २ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका प्रत्येक दिन डबल–हेडर प्रणालीअनुसार दुई खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा आयोजना गरिएको हो।
आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनल चरणका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘खेलदृश्य’ को फेसबुक र युट्युबमार्फत गरिने बताइएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदाउँदो खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

