काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलो पटक हुन लागेको महिला फुटसल च्याम्पियनसिप आज (मंगलबार) थाइल्याण्डमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन दिन नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र श्रीलंकाबीचको खेल बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। सात राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा पहिलो दिन तीन खेल खेलाइनेछ, जसको तेस्रो खेलमा नेपाल र श्रीलंका आमनेसामने हुन लागेका हुन्।
जनवरी २६ सम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ। लिग चरणमा सबै टोलीले एक–अर्कासँग खेल्नेछन् र सर्वाधिक अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ।
महिला फुटसल च्याम्पियनसिपमा सहभागी सबै राष्ट्र पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी हुँदैछन्। यसअघि दक्षिण एसियाली राष्ट्रहरूले पुरुषतर्फ एएफसी एसियन कप छनोटजस्ता प्रतियोगितामा मात्र सहभागिता जनाउँदै आएका थिए।
नेपाली महिला टोलीलाई मुख्य प्रशिक्षक विक्रम महर्जनले नेतृत्व गरिरहेका छन्। प्रारम्भिक खुला छनोटपछि टोलीले ३५ दिनको प्रशिक्षण गरेको थियो भने अन्तिम टोली घोषणा भएपछि २० दिन बन्द प्रशिक्षणमा बिताएको थियो। टोलीको कप्तानी पूर्व अन्तर्राष्ट्रिय फुटबलर दीपा राईले सम्हाल्नेछिन्।
नेपालले श्रीलंकाविरुद्धको खेलपछि जनवरी १५ मा माल्दिभ्स, १७ मा भारत, १९ मा बंगलादेश, २१ मा पाकिस्तान र २५ जनवरीमा भुटानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
साफको इतिहासमा दक्षिण एसियाबाहिर आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो। महिला फुटसल टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप भए पनि नेपाली पुरुष फुटसल टोलीले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ। पुरुषतर्फको साफ फुटसल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार खेल्नेछ।
नेपाली महिला फुटसल टोली:
अनिता केसी, अञ्जली मछामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई (कप्तान), जेनिफर राना, झरना डुम्राकोटी (गोलकिपर), मनीषा थापा मगर, प्रतिक्षा ठाकुरी, रोशनी बोहोरा क्षेत्री, साबित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ।

