काठमाडौँ — डेक्लेन राइसको दुई गोलको मद्दतमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई ३–२ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता ६ अंक पुर्याएको छ। शनिबार सम्पन्न खेलमा चोटको आशंका हुँदाहुँदै पनि मैदान उत्रिएका राइस आर्सनलको जितका नायक बने।
घुँडाको चोटका कारण अघिल्लो खेल गुमाएका राइसलाई बर्नमाउथविरुद्धको खेलमा सुरुआती टोलीमै समावेश गरिएको थियो। प्रशिक्षक मिकेल आर्टेटाले राइसले “आफूलाई अन्तिम सीमासम्म धकेल्दै” खेलेको बताएका छन्।
यस जितसँगै आर्सनलले २० खेलबाट ४८ अंक बनाएको छ। ४२ अंकसहित एस्टन भिल्ला दोस्रो स्थानमा रहेको छ।

