काठमाडौँ । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि आज टुंगो लाग्ने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा महिला र पुरुष दुवैतर्फ उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब फाइनलमा आमनेसामने हुनेछन्। महिलाको उपाधि भिडन्त दिउँसो १ बजे सुरु हुनेछ। पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने न्यु डायमण्डले सशस्त्र प्रहरी बल (एपीएफ)लाई हराउँदै अन्तिम खेलमा स्थान बनाएको हो।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्नेछन्। पुरुष फाइनल खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

