काठमाडौँ । नेपाल पुलिस क्लब अन्तर्गतका महिला तथा पुरुष भलिबल टिमहरूको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि.बीच प्रायोजन सम्झौता भएको छ।
गत साता सम्पन्न सम्झौता अनुसार रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि.ले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षका लागि प्रायोजन उपलब्ध गराउनेछ। यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिको तर्फबाट सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाह र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि.को तर्फबाट म्यानेजिङ डाइरेक्टर श्री रमेश पराजुलीले हस्ताक्षर गरेका थिए। दुवै पक्षले सम्झौतामा उल्लेखित शर्तहरू इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौता अनुरूप हाल काठमाडौँमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबका महिला तथा पुरुष टोलीका मुख्य प्रायोजकका रूपमा रुप्से होलिडेज रहेको छ। ट्राभल तथा टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ।

