काठमाडौँ- एभर्टनविरुद्ध १–० को कठिन जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। हिल डिकिन्सन स्टेडियममा सम्पन्न खेलमा आर्सनलले अपेक्षित प्रदर्शन गर्न नसके पनि महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
यस खेलअघि म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै आर्सनललाई उछिनेको थियो, जसले गर्दा आफ्नै पूर्व क्लब एभर्टनविरुद्ध मिकेल आर्टेटाको टोली दबाबमा देखिएको थियो।
खेलको निर्णायक क्षण २७औँ मिनेटमा आयो। डेक्लान राइसको कर्नरमा एभर्टनका डिफेन्डर जेक ओ’ब्रायनले ह्यान्डबल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो। प्राप्त पेनाल्टीलाई भिक्टर ग्योकरसले शक्तिशाली प्रहार गर्दै गोलमा परिणत गरे।
दोस्रो हाफमा आर्सनलले अग्रता बढाउने अवसरहरू सिर्जना गर्यो। तर लियान्द्रो ट्रोसार्ड र मार्टिन जुबिमेन्डी दुवैको प्रहार गोलपोष्टमा लाग्दा थप गोल हुन सकेन।
यो जितसँगै आर्सनल अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा दुई अंकले अघि रहँदै शीर्ष स्थानमा उक्लिएको छ। आर्सनल तेस्रो स्थानमा रहेको एस्टन भिल्लाभन्दा छ अंकले अगाडि रहेको छ। एस्टन भिल्लाले आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

