काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरन चेम्जोङ माल्दिभ्सको भिक्टोरी स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत भिक्टोरीमा आबद्ध भएको जानकारी गराएका हुन् । यसअघि उनले मंगलबार बंगलादेशको बंगलादेश पुलिस एफसी छाडेको घोषणा गरेका थिए ।
भिक्टोरी एससीबाट आफ्नो पहिलो खेलमै किरणले उत्कृष्ट प्रदर्शन गरे । डेब्यू खेलमा क्लिन सिट राख्दै उनले भिक्टोरीलाई क्लब इगल्सविरुद्ध २–० को जित दिलाए । यससँगै माल्दिभ्स प्रिमियर लिगमा उनको नयाँ यात्रा प्रभावशाली रूपमा सुरु भएको छ ।
किरनका लागि माल्दिभ्स फुटबल नयाँ होइन । यसअघि उनले टीसी स्पोर्ट्स क्लब र माजिया एस एन्ड आरसीबाट खेल्दै धिवेही प्रिमियर लिगको उपाधि जितिसकेका छन् । पछिल्लो पटक २०२१–२२ सिजनमा माजियाबाट उपाधि जित्दै उनले माल्दिभ्समा सफल समय बिताएका थिए ।
यस सिजन माल्दिभ्स प्रिमियर लिगमा अर्का नेपाली खेलाडी सुमन श्रेष्ठ पनि ओडी एससीबाट खेलिरहेका छन् । यस्तै, जारी माल्दिभ्स महिला लिगमा रेखा पौडेल र दीपा शाहीले माजिया एससी महिला टोलीबाट नेपाली फुटबलको प्रतिनिधित्व गरिरहेका छन् ।

