काठमाडौँ । पोखरामा पहिलोपटक आयोजना हुन लागेको केज फाइटका लागि तयारी तिव्र भएको छ। पर्यटकीय राजधानी पोखरालाई नयाँ आकर्षण तथा खेल–पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा यसपटक नयाँ विधा थप गरिएको आयोजकले जनाएको छ।
साक यान्त मुवाथाईको आयोजनामा हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न विधाका खेलाडीहरूले १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार प्राप्त गर्नेछन्। नेपाल वारियर सिरिज पनि सहकार्यमा रहने बताइएको छ।
नेपाल–भारत–श्रीलंका का अनुभवी फाइटर सहभागी
कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र क्षेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू प्रतिस्पर्धा गर्नेछन्। कुल २५ वटा प्रोफेशनल फाइट हुने योजना छ।
क्षेत्रीका अनुसार खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो इभेन्ट आयोजना गरिएको हो।
कार्यक्रम तालिका
- पुस १० गते: सबै फाइटरहरूको पोखरा आगमन
- पुस ११ गते: तौल मापन तथा प्राविधिक प्रक्रिया
- पुस १२ गते: मुख्य इभेन्ट
नेपाली फाइटरका लागि ठूलो अवसर
संयोजक क्षेत्रीले यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने महत्वपूर्ण मौका प्रदान गर्ने बताए।
उनले भने, “रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरू यस्तै फाइटका कारण उदाएका हुन्। यो अवसर हो।”
यस पटक सुस्मिता थापा मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन्।
२५ लाख लागत
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यस आयोजनासँगै पोखरामा खेल–पर्यटनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

