काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्याण्ड स्केटपार्क, गोकर्णको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको ‘ओपन स्केट म्याराथन’ आज सफलतापूर्वक सम्पन्न गरिएको छ। बिहान सुन्दरीजलबाट सुरु भएको म्याराथन करिब ५ किलोमिटर दुरी पार गर्दै गोकर्णेश्वर–तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कमा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल तथा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले सयौँ खेलाडीको उपस्थितिमा प्रतियोगिताको औपचारिक शुभारम्भ गरे।

करिब २०० खेलाडीको सहभागिता

स्वदेशी तथा विदेशी गरी करिब २०० स्केटरले यो पहिलो राष्ट्रिय स्केट म्याराथनमा सहभागी भएका थिए। कागेश्वरी मनोहरा नगरपालिका–सुन्दरीजल, आलापोट चोक हुँदै गोकर्णेश्वर तालिन्चोकसम्म निर्धारित दुरीमा प्रतिष्पर्धा गराइयो।

विजेताहरू

महिला तर्फः

  • प्रथम: निमिशा पाख्रिन
  • द्वितीय: मोनिका मगर
  • तृतीय: सिवानी रेग्मी

पुरुष तर्फः

  • प्रथम: साम्देन ग्याल्बो शेर्पा
  • द्वितीय: अनिश गुरुङ
  • तृतीय: सफल थापा
    यो जानकारी प्रमुख प्रशिक्षक दिलिपराज बरालले दिएका हुन्।

नगद तथा ट्रफीसहित सम्मान

विजयी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल र संघका अध्यक्ष अच्युत खनालले संयुक्त रूपमा

  • प्रथमलाई रू. ५०,०००,
  • द्वितीयलाई रू. ३०,000,
  • तृतीयलाई रू. १५,000,
    सहित ट्रफी र प्रमाणपत्र प्रदान गरे।

सम्बोधन

पुरस्कार वितरण कार्यक्रममा

  • अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिङ खेलले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई पदक दिलाउने क्षमता रहेको भन्दै संघको निरन्तर सक्रियतालाई प्रशंसा गरे।
  • मेयर दीपक कुमार रिजालले आगामी दिनमा स्केटिङ सम्बन्धी पूर्वाधार र प्रतियोगितामा नगरपालिकाबाट आवश्यक लगानी गरिने प्रतिबद्धता जनाए।
  • संघका अध्यक्ष अच्युत खनालले स्केटिङ खेललाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक दुवै मोडेलमा देशभर विस्तार गर्ने लक्ष्य प्रस्तुत गरे।

उल्लेखनीय उपस्थिति

नेपालभित्रका खेलाडीहरूसँगै विदेशबाट समेत सयौँ स्केटरहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक संघका महासचिव सत्य थापाले जानकारी दिए।

यस ऐतिहासिक आयोजनासँगै नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलको लोकप्रियता अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile