काठमाडौँ । एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भएको हो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जङ्ग शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले प्रतियोगिताका लागि एलआरआर मोटर्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘मस्कट’ बड्डाउ प्रतियोगितामा फरक रौनक थप्ने एक माध्यम हो । अब यो रौनक सँगै एलआरआर मोटर्स पनि जोडिएको छ,’ खड्काले भने ।
यता एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोली सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छौं । यो सम्झौताले सुदूरपश्चिमको विजय यात्रामा हाम्रो सकारात्मक योगदान हुनेछ,’ शाहीले बताए ।
साविक विजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । अपराजित रहँदै ६ खेलमा ६ जितका साथ सुदूरपश्चिमले पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।
प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले शनिबार विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

