काठमाडौं — दक्षिण एसियाली महिला क्लब फुटबलमा पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप आज दशरथ रंगशालामा सुरु हुँदैछ। प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहनेछ।
आजको उद्घाटन खेल कराची सिटी एफसी (पाकिस्तान) र ट्रान्सपोर्ट युनाइटेड (भुटान) बीच दिउँसो २ बजे किक–अफ हुनेछ।
नेपालका तर्फबाट लिग च्याम्पियन एपीएफ क्लब पहिलो दिनको अन्तिम खेलमा बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमीसँग साँझ ६ बजे प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा खेलिँदै गरेको हुँदा एपीएफले दर्शकको ठूलो समर्थन पाउने अपेक्षा गरिएको छ।
साफ महिला क्लब च्याम्पियनसिपले दक्षिण एसियाली महिला फुटबलमा नयाँ उत्साह थप्ने र नेपाली क्लब फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

