काठमाडौँ- कडा प्रतिस्पर्धाबीच आर्सनलले पछिल्लो हप्तामा टोटेनहम, बायर्न म्युनिख र चेल्सीसँग खेल्नुपरेको थियो । कुनै पनि टोलीका लागि अत्यन्त चुनौतीपूर्ण मानिने यस तीन खेलबाट दुई जित र एक बराबरी निकाल्नु आर्सनलका लागि सकारात्मक नतिजा मानिन्छ। तर, कोच मिकेल आर्टेटालाई भने टोलीले अझ राम्रो गर्न सक्ने मौका गुमाएको महसुस भएको छ।

स्पर्सलाई उत्कृष्ट प्रदर्शनसँगै हराएपछि तथा एमिरेट्समा बायर्नलाई पराजित गरेपछि चेल्सीविरुद्धको खेल आर्सनलका लागि पुनः ठूलो चुनौती बन्ने पक्का थियो, विशेषगरी छोटो पुनःस्थापना समयका कारण। त्यसमा पनि मुख्य डिफेन्डर विलियम सालिबा प्रशिक्षणमै चोट लागेर बाहिरिएका थिए ।

यस्तो परिस्थितिमा मोइसेस कैसिडोको रातो कार्डपछि धेरै समय १० खेलाडीमा सीमित चेल्सीविरुद्ध १–१ को बराबरी निकाल्दै पाँच अङ्कको अग्रता कायम गर्नु आर्सनलका लागि खराब नतिजा होइन। मिकेल मेरिनोको हेडरले खेल बराबरीमा पुगेको थियो। तर संख्यात्मक लाभ हुँदा पनि जित निकाल्न नसकिएकोमा आर्टेटाले खेद व्यक्त गरे।

आर्टेटाले भने:
“यो ठूलो हप्ता थियो। डर्बीबाट सुरु भयो, त्यसपछि तीन दिनमै बायर्नसँग खेल्नु पर्‍यो र ती खेलहरूमा हामीले केही खेलाडी गुमायौँ। आज त हामीलाई कहिल्यै नखेलेको डिफेन्सिव जोडी प्रयोग गर्नु पर्‍यो। कप्तान (मार्टिन ओडेगार्ड) अझै पूर्ण रूपमा तयार छैनन्, नम्बर–९ (भिक्टर ग्योकरेस) अझै छैनन्, काइ (हाभर्ट्ज) छैनन्, ट्रोसर पनि घाइते भए। तर टोलीले धेरै राम्रो प्रतिक्रिया दियो।”

ओडेगार्ड र ग्योकरेस दोस्रो हाफमा बेंचबाट आए पनि जित निकाल्न पर्याप्त भएन।

आर्टेटाले थपे,
“समग्रमा यो सकारात्मक हप्ता हो किनकि कठिनाइ अत्यन्त ठूलो थियो। तर आज हामीले खेल जित्न सक्थ्यौँ र जित्नुपर्ने थियो। यही कुरा हाम्रो लागि एउटा सिकाइ हो।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile