काठमाडौं । मातृभूमि स्कुलका प्रवीर केसीले एचसीए युथ कप ब्लिज चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले सात चरणको प्रतिस्पर्धामा सर्बाधिक ६ अंक जोड्दै ट्रफी चुमेका हुन् ।

हिमालयन चेस एकेडेमीद्वारा थापाथलीमा आयोजित एकदिने प्रतियोगितामा अस्ट्रेलियाका लियो स्मेर्डन दोस्रोमा रहे । सात्विकमान तुलाधर तेस्रो र आरभ पौडेल चौथो भए । लियो, सात्विक र आरभले समान ५.५ अंक जोडेपछि टाइब्रेकरको आधारमा वरीयता निर्धारण गरिएको थियो ।

लियोले चौथो चरणमा प्रवीरलाई पराजित गरेका थिए । तर, छैटौं चरणमा निहाना श्रेष्ठसँग हार बेहोर्न पुगे र अन्तिम चरणमा पनि सात्विकसँग बराबरी गरे । त्यसैले उनी उपाधि होडमा प्रवीरभन्दा पछाडि परेका हुन् । समान ५ अंक बटुलेका अनमोल राई, निहाना श्रेष्ठ र संभव थुलुङसँगै अरन्य तुलाधर (४.५ अंक), अरिज राई (४ अंक) र दिभान श्रेष्ठ (४ अंक) शीर्ष दसमा अटाए ।

त्यस्तै, यू ६ स्पर्धातर्फ ब्वाइजमा फेलिक्स स्मेर्डन र गल्र्समा रुथवी सिंह प्रथम भए । यू ८ तर्फ ब्वाइजमा प्रसित झा र गल्र्स सहर्ष क्षत्री पहिलो स्थानमा रहे । यू १० ब्वाइजमा आरभ श्रेष्ठ र गल्र्समा आहना शाहले शीर्ष स्थान हासिल गरे । विजेता खेलाडीहरूलाई अस्ट्रेलियन ग्रान्डमास्टर डेविड स्मेर्डन र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरे ।

काठमाडौं महानगरपालिका ११ स्थित थापाथलीमा सञ्चालित हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा कबिर २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile